बैतडी-बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको चार महिनाको अवधिमा एक हजार ८५ जनाले नागरिकता सेवा लिएका छन्।
इलाका प्रशासन कार्यालय मेलौलीका प्रमुख महेश भट्टका अनुसार कार्यालयबाट हालसम्म एक हजार ८५ जनाले नयाँ नागरिकता र ३३८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्।
इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता कम भएको छ। स्थानीय तहमै सेवा उपलब्ध हुन थालेपछि नागरिकको समय र खर्च बचत हुनुका साथै सेवा लिन हुने आवतजावतको झन्झट समेत घटेको स्थानिय दिलिप दयालको भनाई छ।
कार्यालयले नागरिकता सेवासँगै नागरिकका गुनासा सम्बोधन तथा बजार अनुगमनलाई समेत प्राथमिकता दिएको छ। चार महिनाको अवधिमा ५५ वटा नागरिक गुनासा सम्बोधन गरिएको र चार पटक बजार अनुगमन गरिएको कार्यालय प्रमुख भट्टले जानकारी दिए ।
नागरिकलाई कार्यालयबाट प्रवाह हुने सेवाबारे जानकारी गराउने उद्देश्यले शिवनाथ गाउपालिकामा सेवा सहजीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको छ।
इलाका प्रशासन कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकले आफ्नै क्षेत्रबाट प्रशासनिक सेवा पाउन थालेका छन्। यसबाट सदरमुकाम धाउनुपर्ने समय र खर्च बचत भएको भन्दै स्थानीय नागरिकले कार्यालय स्थापनालाई सकारात्मक रूपमा लिएका मेलौली-१ का राकेश दयालले बताए ।
कार्यालयले आगामी दिनमा सेवाग्राहीलाई थप सहज, छिटो र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने जनाएको छ।कार्यालय प्रमुख महेश भट्टले नागरिकलाई आफ्नै क्षेत्रबाट सहज रूपमा प्रशासनिक सेवा उपलब्ध गराउन सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए ।