बैतडी: दार्चुला घर भएकी निरुता ठगुन्ना राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा नियुक्त भएकी छन। नेपाल भलिबल महासंघले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानको घोषणा गरेको हो। महासंघको ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले दार्चुलाको नौगाड गाउँपालिका-६ मा जन्मिएकी निरुतालाई नयाँ कप्तानमा नियुक्त गरेको हो।
नेपालले काभा भलिबल च्याम्पियनसिपमा नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने बताइएको छ। यसअघि महिला टोलीको कप्तान अरुणा शाहीले गर्दै आएकी थिइन्।
गत वर्ष शाही अस्ट्रेलिया पुगेपछि काभा च्याम्पियनसिपका लागि महासंघले टोलीको नयाँ कप्तान चयन गरेको हो। शाहीले सन् २०१९ देखि २०२५ सम्म टोलीको कप्तानी गरेकी थिइन्। ओपन स्पाइकर निरुताले सन् २०१९ मा आयोजना भएको काभा च्याम्पियनसिपमा नेपाल पहिलोपटक विजेता हुँदा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्।
कप्तानको जिम्मेवारी पाएकी निरुताले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने बताएकी छन्। कप्तान हुने दौडमा निरुतासहित अर्की ओपन स्पाइकर उषा भण्डारी र लिबेरो सलिना श्रेष्ठ पनि थिए। मुख्य प्रशिक्षक जगदीश भट्टले ठगुन्नालाई कप्तानको जिम्मेवारी दिएका छन् ।