बैतडीको शिवनाथ गाउँपालिका–०५ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। वडा अध्यक्ष केशब बहादुर चन्दको अध्यक्षतामा आयोजित एक औपचारिक कार्यक्रमका बीच भवन उद्घाटन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद रहनुभएको थियो भने विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष सकुन्तला साउँद र प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्य रहनुभएको थियो। कार्यक्रममा वडा नम्बर १, ३, ५ वडाध्यक्ष र वडा न ६ का पूर्व वडाध्यक्षहरूको समेत उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले नयाँ कार्यालय भवन निर्माणसँगै सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
नवनिर्मित भवनले सेवाग्राहीलाई सहज वातावरणमा सेवा लिन मद्दत पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष साउँदले बताउनुभयो। स्थानीयवासीहरूले पनि आधुनिक संरचना निर्माण भएसँगै वडा कार्यालयको कामकाज थप व्यवस्थित हुने अपेक्षा गरेका छन।
कार्यक्रमकै अवसरमा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने कलशा देवी धनाडी, कुशालसिंह धनाडी, लालसिंह धनाडी, गंगादेवी धनाडी, खेट्टीदेवी धनाडी, सेतु देवी धनाडी र देबसिंह धनाडीलाई सम्मान गरिएको वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो।
वडा कार्यालय भवन निर्माणसँगै स्थानीय सरकारको सेवा थप प्रभावकारी बन्ने र विकास निर्माणका गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष साउँदले बताउनुभयो।