बैतडी: बालविवाह, जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि बैतडीमा संकल्प यात्रा सम्पन्न गरिएको छ। दलित समाज विकास मञ्च बैतडीको आयोजनामा मेलौलीदेखि बैतडी सदरमुकामसम्म संकल्प यात्रा सञ्चालन गरिएको हो।
“छुवाछूत र भेदभाव अन्त्य गरौं, समानता र सम्मानयुक्त समाजको निर्माण गरौं” भन्ने नाराका साथ आयोजना गरिएको संकल्प यात्राले सामाजिक कुरीति र विभेदविरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ। समाजमा विद्यमान जातीय भेदभाव तथा छुवाछूत, बालविवाह, महिलामाथि हुने सबै प्रकारका हिंसा लगायतका हानिकारक प्रथाको अन्त्य गर्दै सामाजिक न्याय, समानता र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष सरस्वती नेपालीले बताउनुभयो।
संकल्प यात्राको उद्घाटन मेलौली नगरपालिकाका नगरप्रमुख भीम बहादुर चन्दको प्रमुख आतिथ्यतामा नगरपालिकाको परिसरबाट गरिएको संस्थाका सचिव बलभद्र दयालले जानकारी दिनुभयो। उद्घाटन कार्यक्रममा सहभागीहरूले विभेदमुक्त र हिंसारहित समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।
संकल्प यात्रामा मेलौली नगरपालिकाका चार विद्यालयबाट २० जना किशोर–किशोरी र एक जना शिक्षकको सहभागिता रहेको थियो। त्यसैगरी दशरथचन्द नगरपालिकाबाट १२ जना किशोर–किशोरी, एक जना शिक्षिका, विभिन्न अधिकारकर्मी, कर्मचारी तथा संस्थाका पदाधिकारीहरूको समेत सक्रिय सहभागिता रहेको कार्यक्रम संयोजक सुरेश सेरलाले जानकारी दिनुभयो।
यात्राका क्रममा सहभागीहरूले बालविवाह, जातीय छुवाछूत, लैङ्गिक हिंसा तथा सामाजिक विभेदविरुद्ध जनचेतनामूलक सन्देश प्रवाह गरेका थिए। समाजमा समान अवसर, मानव अधिकारको सम्मान र सामाजिक सद्भाव कायम गर्न यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।
दलित समाज विकास मञ्च बैतडीले आफ्नो स्थापनाकालदेखि नै सामाजिक न्याय र मानव अधिकारका पक्षमा निरन्तर वकालत तथा पैरवी गर्दै आएको छ। संस्थाले दलित, महिला, बालबालिका, किशोर–किशोरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, भूमिहीन, सुकुम्बासी तथा हलियालगायतका समुदायका अधिकार सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
यस्ता अभियानले समाजमा विद्यमान विभेद र कुरीतिविरुद्ध जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक रूपान्तरणका कार्यक्रमलाई निरन्तरता दिइने दलित समाज विकास मञ्च बैतडीले जनाएको छ।