मेलौलीमा प्रारम्भिक तहको शिक्षण गुणस्तर सुधारका लागि  दुई दिने एकीकृत पाठ्यक्रम तालिम सम्पन्न

बैतडी-बैतडीको मेलौली नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कक्षा १ देखि ३ सम्म अध्यापन गर्ने शिक्षक–शिक्षिकाहरूका लागि दुई दिने एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सम्पन्न भएको छ।

प्रारम्भिक तहका विद्यार्थीहरूको सिकाइ उपलब्धि अभिवृद्धि गर्दै विद्यालयमा एकीकृत पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा नगरपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो।

तालिममा प्रशिक्षक रमेश दत्त बाग र नारायण जोशीले एकीकृत पाठ्यक्रमको अवधारणा, बालमैत्री शिक्षण विधि,सिकाइ सहजीकरण, पाठयोजना निर्माण,कक्षाकोठा व्यवस्थापन तथा निरन्तर विद्यार्थी मूल्याङ्कन लगायत विषयमा सहजीकरण गर्नुभएको थियो।

तालिममा सहभागी शिक्षकहरूले समूहगत अभ्यास, अनुभव आदानप्रदान तथा व्यवहारिक अभ्यास मार्फत् आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्ने अवसर पाएका थिए।

मेलौली नगरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मनु कुमारी क्षेत्रीका अनुसार प्रारम्भिक तहको शिक्षणलाई थप प्रभावकारी, गुणस्तरीय र उपलब्धिमूलक बनाउन तालिम आयोजना गरिएको हो। उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई विद्यालयमा व्यवहारमा उतारी विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो।

यस्तै प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले स्थानीय तहले शिक्षालाई उच्च प्राथमिकतामा राख्दै शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धिका लागि निरन्तर तालिम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनबाट प्रारम्भिक तहका विद्यार्थीहरूको सिकाइ उपलब्धि थप सुदृढ हुने विश्वास व्यक्त गर्दै तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागी शिक्षकहरूलाई आग्रह गर्नुभयो।

नगरपालिकाले शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षकहरूको पेशागत क्षमता विकास तथा विद्यालयमा प्रभावकारी शिक्षण–सिकाइ वातावरण निर्माणका लागि यस्ता तालिम तथा क्षमता विकास कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने शिक्षा शाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.