दशरथचन्द नगरपालिकामा साउन ७ गते स्थानिय विदा

बैतडी-बैतडीको दशरथचन्द नगरपालिकाले साउन ७ गते बिहीबार नगरपालिका क्षेत्रभित्र स्थानीय सार्वजनिक बिदा दिने जनाएको छ।

दशरथचन्द नगरपालिका–८ त्रिपुरामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको त्रिपुरा सुन्दरी भगवती मन्दिरमा प्रत्येक वर्ष असार शुक्ल नवमीका अवसरमा लाग्ने जात्रा यस वर्ष साउन ७ गते परेकोले स्थानीय बिदा घोषणा गरिएको नगरपालिकाले जनाएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले जारी गरेको सूचनामा नगरपालिका मातहतका सरकारी कार्यालय, शैक्षिक संस्था तथा गैरसरकारी संघ–संस्थाहरूमा उक्त दिन सार्वजनिक बिदा रहने उल्लेख गरिएको छ।

त्रिपुरा सुन्दरी भगवती मन्दिर बैतडीका प्रमुख धार्मिक गन्तव्यमध्ये एक मानिन्छ। यहाँ रहेको सातबैनी भगवती तथा सातभाइ केदार देवताप्रतिको आस्थाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लासँगै सीमावर्ती भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु तथा दर्शनार्थीहरू पुग्ने गरेका छन्। जात्राको अवसरमा मन्दिर क्षेत्रमा विशेष धार्मिक पूजा, दर्शन तथा विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन हुने गर्दछन्।

Leave A Reply

Your email address will not be published.