बैतडी-बैतडीका ८४ वटा वडामध्ये ६२ वटा वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको पाइएको छ। जिल्लाका २२ वटा वडामा मात्रै सचिवको दरबन्दी पूर्ति भएको छ। बाँकी वडामा प्राविधिक, स्वास्थ्यकर्मी, कम्प्युटर अपरेटर तथा करारका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएर सेवा सञ्चालन भइरहेको छ।
सुर्नया र सिगास गाउँपालिकाका कुनै पनि वडामा स्थायी वडा सचिव छैनन । ती पालिकाका सबै वडामा प्राविधिक, स्वास्थ्य तथा करारका कर्मचारीले वडा सचिवको जिम्मेवारी सम्हालिरहेका छन ।
यस्तै, पाटन नगरपालिकाका ७, पुर्चौडी नगरपालिकाका ९, मेलौली नगरपालिकाका ७ र दशरथचन्द नगरपालिकाका ४ वटा वडामा सचिवको दरबन्दी रिक्त रहेको छ।दोगडाकेदार गाउँपालिकाका ४, पञ्चेश्वर गाउँपालिकाका ४, डिलाशैनी गाउँपालिकाका ५ र शिवनाथ गाउँपालिकाका ५ वटा वडामा पनि स्थायी वडा सचिव छैनन्। ती वडामा प्राविधिक तथा अन्य कर्मचारीलाई दोहोरो जिम्मेवारी दिएर सेवा सञ्चालन गरिएको सम्बन्धित स्थानीय तहले जनाएका छन ।
१० वटा वडा रहेको पाटन नगरपालिकामा ३ वटा वडामा मात्रै सचिवको दरबन्दी पूर्ति भएको छ भने बाँकी वडामा प्राविधिक कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएको सूचना अधिकारी राजेन्द्र भट्टले बताउनुभएको छ।
दशरथचन्द नगरपालिकाका ११ वडामध्ये ७ वडामा सचिवको दरबन्दी पूर्ति भएको छ। बाँकी वडामा प्राविधिक तथा अन्य कर्मचारीले वडा सचिवको जिम्मेवारी सम्हालिरहेका छन्।पुर्चौडी नगरपालिकाका १० वडामध्ये ९ वडामा प्राविधिक कर्मचारीले सचिवको काम गरिरहेका छन । वडा नम्बर २ मा भने हालसम्म सचिवको जिम्मेवारी कसैलाई नदिइएको सूचना अधिकारी प्रवीन धानुकले जानकारी दिनुभयो।
९ वटा वडा रहेको मेलौली नगरपालिकामा वडा नम्बर ३ र ८ मा मात्रै स्थायी सचिव छन्। बाँकी वडामा कम्प्युटर अपरेटर लगायत प्राविधिक कर्मचारीलाई सचिवको जिम्मेवारी दिइएको सूचना अधिकारी सपना कार्कीले बताउनुभयो ।
दोगडाकेदार गाउँपालिकाका ८ वडामध्ये वडा नम्बर ३, ४, ५ र ८ मा सचिव कार्यरत छन् भने बाँकी ४ वडामा प्राविधिक कर्मचारीले सचिवको जिम्मेवारी सम्हालिरहेका छन ।
६ वटा वडा रहेको पञ्चेश्वर गाउँपालिकामा वडा नम्बर ३ र ६ मा मात्रै सचिवको दरबन्दी पूर्ति भएको छ। बाँकी ४ वडामा प्राविधिक कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएको सूचना तथा प्रविधि शाखा प्रमुख रोशन चन्दले जानकारी दिनुभयो।
डिलाशैनी गाउँपालिकाका ७ वडामध्ये वडा नम्बर २ र ६ मा मात्रै स्थायी सचिव छन । बाँकी ५ वडामा प्राविधिक तथा स्वास्थ्य समूहका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष सन्तोष जोशीले बताउनुभयो । यस्तै, ६ वटा वडा रहेको शिवनाथ गाउँपालिकाको वडा नम्बर १ मा मात्रै सचिव छन्। बाँकी ५ वडामा प्राविधिक तथा करारका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको सूचना अधिकारी महेशसिंह महताले जानकारी दिनुभयो।
वडा सचिवको दरबन्दी रिक्त रहँदा उपलब्ध कर्मचारीलाई दोहोरो जिम्मेवारी दिनुपर्ने अवस्था आएको स्थानीय तहहरूले जनाएका छन । यसका कारण वडाबाट हुने प्रशासनिक तथा नागरिक सेवा प्रवाहमा समेत चुनौती देखिएको छ।