बैतडी-मेलौली नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को अन्तिम चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको आयोजना तथा स्थानीय सरोकारवालाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा नगर प्रमुख भीमबहादुर चन्द ‘भुकम्प’ को अध्यक्षता रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, निवर्तमान जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा गरेका विकास निर्माण, सेवा प्रवाह, योजना तथा कार्यक्रमको प्रगति,आर्थिक गतिविधि र आगामी कार्यदिशाका विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा सहभागी नागरिक तथा सरोकारवालाहरुले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण, योजना कार्यान्वयन तथा स्थानीय आवश्यकतासँग सम्बन्धित विभिन्न जिज्ञासा, सुझाव तथा प्रश्नहरु राखेका थिए। सहभागीका प्रश्न तथा जिज्ञासामाथि नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित शाखाका कर्मचारीहरुले जवाफ दिएका थिए।
सार्वजनिक सुनुवाई कार्यक्रमले नगरपालिका र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ गर्दै पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।