बैतडी-बैतडीको पाटन नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत करारका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।
न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने, महँगी भत्ता दिनुपर्ने र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
गत असारमा आफ्ना मागसहित नगरपालिकालाई ज्ञापनपत्र बुझाए पनि माग सम्बोधन नभएपछि आन्दोलन गर्नुपरेको करार स्वास्थ्यकर्मी संघर्ष समितिका संयोजक प्रकाश भट्टले बताउनुभयो ।
चालु आर्थिक वर्षको बजेटमा करार स्वास्थ्यकर्मीका माग सम्बोधन गर्ने आश्वासन पाए पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिनुपरेको उहाँले बताउनुभयो ।
मंगलबार नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई पुनः मागका विषयमा जानकारी गराइएको र माग पूरा नभए थप आन्दोलनका कार्यक्रम अघि बढाइने भट्टले बताउनुभयो ।
पाटन नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा २५ भन्दा बढी करारका स्वास्थ्यकर्मी कार्यरत छन् ।