बैतडी-बैतडीको मेलौली नगरपालिका-१ शीतलपुरमा रहेको शीतलपुर माध्यमिक विद्यालयको ३९औँ वार्षिकोत्सव तथा समापन समारोह सम्पन्न भएको छ।
सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विसन सिंह नायकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलौली नगरपालिकाका निवर्तमान नगरप्रमुख कृष्ण सिंह नायक प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नायकले वर्तमान समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै बालबालिकालाई भविष्यका कर्णधारका रूपमा विकास गर्न जीवनोपयोगी सीप, ज्ञान र क्षमता अभिवृद्धिमा विशेष जोड दिनुपर्ने बताए।
वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
विद्यालयका प्रधानाध्यापक भवानी सिंह नेगीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। शिक्षक राम सिंह नेगीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक राम सिंह नेगीले गर्नुभएको थियो।
मेलौली नगरपालिका–१ शीतलपुरमा रहेको उक्त विद्यालयमा हाल कक्षा १० सम्म अध्यापन हुँदै आएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।