बैतडी–
नेपाल –भारत सीमा समन्वय समितिको बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ ।
बैठकमा नेपालकातर्फबाट बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालयको नेतृत्वमा बैतडी र दार्चुला जिल्लाको सहभागिता रहेको थियो भने भारतको पिथौरागढ जिल्लाका अधिकारीहरुको सहभागिता रहेको थियो ।
सीमा क्षेत्रमा शान्ति,सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, व्यापार सहजीकरण, पूर्वाधार मर्मत तथा निर्माण, आपसी समन्वय तथा सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकका साझा सरोकारका बिषयमा छलफल गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।
बैठकमा नेपाल–भारतबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्ध तथा सीमा क्षेत्रमा रहेका नागरिकबीचको परम्परागत, सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने बिषयमा छलफल उनले बताइन् ।
बैठकमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन तथा अन्य सीमा अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच नियमित सूचना आदान–प्रदान गर्ने सहमति भएको छ । यस्तै सीमा आवागमनलाई सहज र प्रभावकारी बनाउने बिषयमा पनि छलफल भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।
यस्तै विपद् व्यवस्थापनका लागि सूचना आदान–प्रदान गर्ने साझा संयन्त्र निर्माण गर्ने बिषयमा पनि बैठकमा छलफल भएको छ ।
बैठकमा नेपाल –भारतको मैत्रीपूर्ण सम्बन्धलाई स्थानीय तहमा अझ सुदृढ बनाउँदै सीमा समन्वय बैठकलाई निरन्तरता दिने बिषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।