मेलौलीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम

बैतडी-बैतडीको मेलौली नगरपालिकामा स्वास्थ्य शाखाअन्तर्गत आर्थिक वर्ष २०८२ /०८३ मा सञ्चालन गरिएका विभिन्न स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।

मेलौली नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको स्वास्थ्य शाखामा कार्यरत भोजबहादुर चन्दले जानकारी दिए । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा वर्षभरि सञ्चालन भएका कार्यक्रम, सेवा प्रवाहको अवस्था, हासिल भएका उपलब्धि, देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा विस्तृत समीक्षा गरिएको चन्दले बताए ।

वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य संस्थाहरुले प्रदान गर्दै आएका नियमित स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य, खोप सेवा, परिवार नियोजन, पोषण, रोग नियन्त्रण तथा अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमको कार्यान्वयन अवस्थाबारे छलफल गरिएको थियो। स्वास्थ्य सेवाको पहुँचलाई थप विस्तार गर्ने तथा नागरिकलाई सहज, प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा समेत सहभागीबीच छलफल भएको थियो।

कार्यक्रममा स्वास्थ्य संस्था प्रमुखहरुले आ–आफ्नो संस्थाबाट वर्षभरि सम्पादन गरिएका स्वास्थ्य गतिविधि, सेवा प्रवाहको अवस्था तथा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीबारे जानकारी प्रस्तुत गरेका थिए। स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता, भौतिक पूर्वाधार तथा सेवाग्राहीको आवश्यकताका विषयमा समेत छलफल गरिएको जनाइएको छ।

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या तथा चुनौती पहिचान गरी चालु आर्थिक वर्षमा सुधारका लागि आवश्यक योजना निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखाले जनाएको छ। समीक्षा कार्यक्रम मार्फत विगतमा सञ्चालन गरिएका कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्दै आगामी वर्षका लागि प्राथमिकताका क्षेत्र पहिचान गरिएको बताइएको छ।

कार्यक्रममा मेलौली नगरपालिकाका नगर प्रमुख भीमबहादुर चन्द लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो। नगर प्रमुख चन्दले नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

उहाँले स्वास्थ्य संस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, औषधि तथा उपकरणको व्यवस्थापनसँगै स्वास्थ्यकर्मीले सेवाग्राहीमैत्री भएर सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहबाट स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक योजना तथा कार्यक्रम अघि बढाइने उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागी स्वास्थ्य संस्था प्रमुख तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा प्रवाहका क्रममा देखिएका व्यवहारिक समस्या, जनशक्ति व्यवस्थापन, औषधि तथा उपकरणको उपलब्धता र स्वास्थ्य कार्यक्रम सञ्चालनमा देखिएका चुनौतीबारे जानकारी गराएका थिए। उनीहरुले आगामी दिनमा स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय हुनुपर्नेमा जोड दिएका थिए।

उक्त  वार्षिक समीक्षा कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ।सम्मानित हुनेमा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौली–७ का सि.अ.हे.ब. प्रताप सिंह नायक, सलेना स्वास्थ्य चौकी, मेलौली–२ की सि.अ.न.मी. रुक्मणी चन्द र आधारभूत स्वास्थ्य केन्द्र, मेलौली–८ की अ.न.मी रत्ना ठगुन्ना रहेका छन्।

स्वास्थ्य क्षेत्रमा पुर्‍याएको निरन्तर सेवा, समर्पण, मेहनत तथा उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप उनीहरुलाई सम्मान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

सम्मानित स्वास्थ्यकर्मीहरुलाई कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुले बधाई तथा आगामी दिनमा थप प्रभावकारी सेवा प्रवाहका लागि शुभकामना व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.