बैतडीको मेलाैलीमा ईभी दुर्घटना, १४ जना डडेल्धुरा रेफर

बैतडीको मेलौली नगरपालिका–१ स्थित घरेलु भवन नजिक मेलौली–उग्रतारा सडकखण्डको बुढाकाफलमा आज साँझ विद्युतिय गाडी (ईभी) दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

मेलौली भगवती मन्दिरमा लागेको गौरा मेलाबाट फर्किने क्रममा आज साँझ करिब ६ः३० बजेतिर ईभी दुर्घटनामा परेको हो। इलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्रबहादुर चन्दका अनुसार दुर्घटनाका बेला चालकसहित २१ जना सवार थिए।

दुर्घटनामा घाइते भएका चालक मानसिंह नायकसहित १४ जनालाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा प्राथमिक उपचारपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ। बाँकी आठ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

दुर्घटनाको जानकारी पाएलगत्तै स्थानीयवासी र प्रहरीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पुर्‍याएका थिए। दुर्घटनाको कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.