बैतडी जिल्ला भलिबल रेफ्री संयोजकमा धिरज चन्द चयन

बैतडी-जिल्ला भलिबल सङ्घ बैतडीको जिल्ला रेफ्री संयोजकमा राष्ट्रिय रेफ्री धिरज चन्द चयन भएका छन्।

मेलौलीमा आज बसेको जिल्ला भलिबल सङ्घ बैतडीको बैठकले चन्दलाई जिल्ला रेफ्री संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो।

संयोजकमा चयन भएसँगै चन्दले बैतडीमा आयोजना हुने पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासहित सरकारी तथा गैरसरकारी निकायले आयोजना गर्ने विभिन्न भलिबल प्रतियोगितामा रेफ्री खटनपटन तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन्।

जिल्लामा सञ्चालन हुने भलिबल प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन तथा रेफ्री व्यवस्थापनमा समन्वय कायम गर्न आफूले भूमिका निर्वाह गर्ने चन्दले बताएका छन्।

जिल्ला भलिबल सङ्घलाई थप चलायमान बनाउँदै भलिबल खेलको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले रेफ्रीले प्राप्त गर्ने पारिश्रमिकको केही अंश सङ्घको कोषमा जम्मा गर्ने योजना रहेको उनले बताए।

“जुनसुकै प्रतियोगितामा रेफ्री गएर पाउने पारिश्रमिक कोषमा जम्मा गर्ने र त्यसलाई भलिबल विकासका केही काममा लगाउने मेरो योजना छ। सोहीअनुसार अघि बढ्नेछु,” रेफ्री संयोजक चन्दले भने।

रेफ्रीबाट प्राप्त पारिश्रमिकको केही अंश कोषमा जम्मा गर्ने योजना कार्यान्वयन हुन सके जिल्लामा भलिबल खेल सम्बन्धी गतिविधि सञ्चालन गर्न तथा खेलको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जिल्लामा भलिबल खेलको विकास, रेफ्री व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा खेलकुद गतिविधिलाई थप व्यवस्थित गर्ने दिशामा आफ्नो जिम्मेवारीले योगदान पुर्‍याउने विश्वास चन्दले व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.