बैतडी-बैतडीमा आयोजना हुन लागेको जिल्लास्तरीय अन्तरवडा महिला–पुरुष भलिबल वडाकपको तयारी तिब्र पारिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्र चन्दको अध्यक्षतामा आज मेलौलीमा बसेको बैठकले प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन संग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आवश्यक निर्णय गरेको हो।
जिल्ला खेलकुद विकास समिति बैतडीको आयोजनामा मेलौली नगरपालिकाको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन समितिले विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए ।
बैठकले प्रतियोगिता सफल बनाउन सचिवालय, रेफ्री संयोजन, खाना तथा बास व्यवस्थापन, स्वयंसेवक तथा अफिसियल व्यवस्थापन, खेलमैदान, मञ्च, टेन्ट तथा साउन्ड सिस्टम व्यवस्थापन, प्रचारप्रसार, प्राथमिक उपचार, सांस्कृतिक टोली, अतिथि सत्कार र शान्ति सुरक्षा व्यवस्थापन लगायतका उपसमिति गठन गरेको अध्यक्ष चन्दले बताए ।
यसैबीच, जिल्ला भलिबल सघं बैतडीका अध्यक्ष वसन्त प्रकाश विष्टलाई जिल्ला खेलकुद समितिका अध्यक्ष भूपेन्द्र चन्दले शपथ खुवाएका छन ।
शपथ ग्रहणपछि जिल्ला भलिबल संघ अध्यक्ष विष्टले जिल्लास्तरीय प्रतियोगिता सफल बनाउन सघंले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
जिल्लामा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन प्रतियोगिताले महत्वपूर्ण योगदान र्पुयाउने अपेक्षा गरिएको छ।
जिल्लास्तरीय प्रतियोगिता मार्फत स्थानीय तहमा रहेका प्रतिभावान् महिला तथा पुरुष खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्ने विश्वास गरिएको छ।
साथै जिल्ला भलिबल संघ बैतडीले राष्ट्रिय रेफ्री धिरज चन्दलाई बैतडी जिल्लाको रेफ्री संयोजकको जिम्मेवारी दिएको छ।
जिल्ला भलिबल सघ बैतडीका अध्यक्ष वसन्तप्रकाश विष्टका अनुसार जिल्लामा सञ्चालन हुने भलिबल प्रतियोगितालाई व्यवस्थित बनाउन तथा रेफ्री व्यवस्थापन र समन्वयलाई प्रभावकारी बनाउन चन्दलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान गर्दै उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यसहित बैतडीमा जिल्लास्तरीय अन्तरवडा महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालनको तयारी तीव्र पारिएको जिल्ला खेलकुद समितिका अध्यक्ष भूपेन्द्र चन्दले बताए ।
प्रतियोगिताका क्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ। खेलकुदसँगै स्थानीय कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले विविध सांस्कृतिक प्रस्तुति समावेश गर्न लागिएको हो।
सांस्कृतिक कार्यक्रमले प्रतियोगितालाई थप आकर्षक बनाउनुका साथै स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।