बैतडी -बैतडीको पाटन नगरपालिकामा अपाङ्गता भएका बालबालिकाको पहिचान, स्वास्थ्य परीक्षण तथा पुनर्स्थापनाका लागि घुम्ती शिविर सञ्चालन हुने भएको छ।
अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा, काभ्रेको आयोजना तथा पाटन नगरपालिकाको समन्वयमा आगामी कात्तिक १३ गते शुक्रबार शिविर सञ्चालन हुन लागेको हो।
पाटन नगरपालिकाले जारी गरेको सूचनाअनुसार शिविरमा १८ वर्षमुनिका बालबालिकाको शारीरिक अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार गरिनेछ। शिविर प्राथमिक स्वास्थ्य केन्द्र, पाटनमा बिहान ९ बजेदेखि सञ्चालन हुनेछ।
शिविरमा जन्मजात वा पछि खुट्टा बाङ्गिएका, आगोले पोलेर अङ्गहरू एकआपसमा टाँसिएका, खुट्टा लुलो वा कमजोर भएका तथा भाँचिएको हड्डी बाङ्गो भएर जोडिएका बालबालिकाले सेवा लिन सक्नेछन्। त्यस्तै, हड्डी पाकेर लामो समयदेखि पिप आइरहेका, शरीरका विभिन्न जोर्नी दुख्ने, सुन्निने वा बाङ्गिएका तथा ढाड बाङ्गो वा कुब्रो भएका बालबालिकाको समेत परीक्षण गरिनेछ।
यसैगरी, औँलाहरू एकआपसमा टाँसिएका वा बढी भएका, कृत्रिम अङ्ग तथा अर्थोपेडिक सहायक सामग्री आवश्यक पर्ने र ओठ तथा तालु फाटेका बालबालिकालाई पनि शिविरमा जाँच तथा उपचारका लागि ल्याउन सकिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले लक्षित बालबालिकासम्म शिविरको सूचना पुर्याउन सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयलाई अनुरोध गरेको छ। साथै, सम्बन्धित बालबालिकाका अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको मिति र समयमा शिविरमा उपस्थित गराई उपलब्ध सेवाबाट लाभ लिन आग्रह गरिएको छ।
