डडेल्धुराको अजयमेरुमा ५ मा खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र बृहत् सांस्कृतिक कार्यक्रम हुने
बैतडी-डडेल्धुराको अजयमेरु गाउँपालिकामा बृहत् सांस्कृतिक कार्यक्रम सहित खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
अजयमेरु गाउँपालिका वडा नम्बर ५ को आयोजनामा आगामी कात्तिक २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिता देवल माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ।
स्थानीय स्तरमा रहेका खेल प्रतिभालाई उजागर गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष राज पालले बताए ।
प्रतियोगितामा प्रथम हुने टोलीले ५२ हजार २२२ रुपैयाँ, द्वितीय हुनेले ३१ हजार १११ रुपैयाँ र तृतीय हुने टोलीले १५ हजार ५५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधामा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने वडा अध्यक्ष पालले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत उत्कृष्ट खेलाडीलाई १ हजार ५५५ रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, ब्लकर, लिफ्टर र लिब्रोलाई जनही १ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमले कात्तिक २७ गते बेलुका ४ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क २ हजार ५०० रुपैयाँ तोकिएको छ।
प्रतियोगितामा सहभागी हुन पालिकाभित्रका खेलाडी, संघसंस्था, युवा क्लब तथा सरोकारवालालाई आयोजकले आग्रह गरेको छ। प्रतियोगितासँगै सांस्कृतिक प्रस्तुति समेत रहने जनाइएको छ।
खेलकुदमार्फत स्थानीय प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।