बसभित्र बेहोस भेटिएका बैतडीको पाटनका एक पुरुषको मृत्यु

बैतडी–तिहारको लागि भारतबाट घर आइरहेका बैतडीको पाटन नगरपालिका –६ भीटाका ५३ वर्षीय हरिश भण्डारीको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट दार्चुलातर्फ आउँदै गरेको सुपप्र ०२–००१ ख १०३१ नम्बरको बसमा बेहोस अवस्थामा भेटिएका भण्डारीको मृत्यु भएको हो । रोजगारीका लागि भारतमा रहेका भण्डारी तिहारका लागि घर आउँदै थिए । महेन्द्रनगरबाट उनी उक्त बसमा चढेका थिए ।

सोमबार राति करिब साढे १२ बजे पाटन पुगेका भण्डारी बसभित्रै बेहोस अवस्थामा भेटिएका थिए । उनलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको थियो ।

पाटनमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बैतडी रेफर गरिएका भण्डारीलाई मंगलबार बिहान चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । मृतकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

मृतक भण्डारीको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.