बैतडी–बैतडीको देहीमाण्डौमा सम्पन्न भएको चौथो संस्करणको एबीसी कप टि–१० क्रिकेट प्रतियोगिताको उपाधि डाँडाबाघले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा गुरुखोला लायन्सलाई एक रनले पराजित गर्दै डाँडाबाघले रोमाञ्चक जित हात पारेको हो ।
गुरुखोलाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको डाँडाबागले ९ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनायो ।
८४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको गुरुखोला लायन्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ८२ रनमा समेटियो ।
प्रतियोगिताको उपाधि जितेको डाँडाबाघले नगद १ लाख १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै उपविजेता बनेको गुरुखोला लायन्सले नगद ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै प्रतियोगिताभरी उत्कृष्ट प्रदर्शन गरेका डाँडाबाघका विक्रम बोहरा म्यान अफ दि सिरिज घोषित भएका छन् । उनले ७ हजार ५ सय नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै गुरुखोला लायन्सका मदन भण्डारी बेस्ट ब्याट्सम्यान घोषित भएका छन् । उनले नगद ५ हजार एक सयसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।
यस्तै डिजे वारियर्सका विजय बोहरा उदयीमान खेलाडी घोषित भएका छन् । उनले ३ हजार १ सय नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजेता टीम र खेलाडीहरुलाई दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी ९लख्खाभाइ०, दशरथचन्द नगरपालिका–२ का वडा अध्यक्ष सूर्यबहादुर बोहरा, प्रतियोगिता संयोजक लवकुश बोहरा लगायतले पुरस्कार र प्रमाण पत्र वितरण गरे ।
बीएस स्पोर्टसको आयोजनामा यही कार्तिक १५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा २० टीमको सहभागिता रहेको थियो ।
स्थानीयस्तरमा क्रिकेट खेलको विकास, खेलाडीहरुको प्रतिभा पहिचान र खेलकुप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगिता संयोजक लवकुश बोहराले बताए ।