बैतडी-बैतडीको मेलौली नगरपालिकाले प्रसिद्ध धार्मिकस्थल मेलौली भगवती मन्दिरमा लाग्ने ऐतिहासिक मेलौली देहीजाँत जात्रालाई शान्तिपूर्ण, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न दुई दिन मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै यही मंसिर ७ र ८ गते मन्दिर परिसर तथा आसपासका क्षेत्रमा मदिरा बिक्री वितरण र सेवन गर्न रोक लगाएको हो ।
नगरपालिकाका अनुसार जात्राका क्रममा हुन सक्ने सम्भावित उच्छृङ्खल गतिविधि, झैझगडा तथा अन्य अवाञ्छित क्रियाकलाप न्यूनीकरण गरी शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मदिरामा प्रतिबन्ध लगाइएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम प्राप्त अधिकार प्रयोग गरी यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
उक्त दुई दिन बिहान ६ बजेदेखि साँझ ३ बजेसम्म मन्दिर आसपासको क्षेत्रमा मदिरा बिक्री वितरण तथा सेवन गर्न पूर्ण रूपमा रोक लगाइएको सूचनामा उल्लेख छ ।
नगरपालिकाले सम्बन्धित क्षेत्रका मदिरा व्यवसायी, भक्तजन, व्यापारी तथा सर्वसाधारणलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
प्रतिबन्धको बेवास्ता गरी मदिरा बिक्री वितरण वा सेवन गरेको तथा अनुचित गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
नगर प्रमुख भीमबहादुर चन्दद्वारा जारी सूचनामार्फत मेलालाई सभ्य, भव्य र मर्यादित रूपमा सम्पन्न गर्न सबैलाई सहयोग गर्न आग्रह गरिएको छ ।
