आज मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरिदै


साउन १४, शनिबार २०७९

काठमाडौँ -हरेक वर्ष जुलाई ३० मा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक वर्षको यस दिन यो दिवस मनाउन सुरु गरिएको हो।

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार बेचबिखनमा परेकाको यकिन संख्या तोक्न कठिन भए पनि यीमध्ये २८ प्रतिशत बालबालिका छन्। ७० प्रतिशतभन्दा धेरै महिला बेचबिखनको शिकार हुन्छन्। दक्षिण एसियामा बेचबिखनमा पर्नेमा ४० प्रतिशत बालबालिका रहेको तथ्यांक छ।

मानव बेचबिखन जघन्य अपराधका रुपमा लिने गरिन्छ । विभिन्न मुलुकमा हत्या कै रुपमा मानव बेचबिखनलाई लिने गरिन्छ ।

महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ ।

पछिल्लो समय मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ । कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो ।

संयुक्त राष्ट्र संघका प्रमुख एन्टिनियो गुटेरेसले मानवको तस्करीलाई एक भयावह अपराधको संज्ञा दिँदै मानिसको अधिकार, सुरक्षा र गरिमामा चौतर्फीरूपमा आक्रमण भइरहेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.