प्रधानमन्त्री ओलीको प्रस्तावमा देउवा असहमत

बैशाख २२, २०७८ बुधबार

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । आउँदो वैशाख २७ गते प्रतिनिधि सभामा आफूले विश्वासको मत लिन लागेको र त्यसमा सघाउन आग्रह गर्दै नेताहरूसहित कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुग्नुभएका प्रधानमन्त्री ओलीलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएको हो ।

सत्तारुढ दलको अहिलेसम्म देखिएको क्रियाकलाप र प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमले सरकार लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध नदेखिएको भन्दै यस्तो अवस्थामा कांग्रेसले सहयोग गर्न नसक्ने सभापति देउवाले जानकारी गराएको नेता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

नेता महतका अनुसार सभापति देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीका लागि दुवैले सँगै लडेको स्मरण गर्दै त्यसको रक्षाका लागि आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । जवाफमा आफूहरुले सरकारले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने व्यवहार नदेखाएको र अहिलेसम्मका गतिविधिका आधारमा समर्थन गर्ने अवस्था नरहेको बताएको नेता महतले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई लोकतान्त्रिक मूल्य र मान्यताका विषय भनाइमा मात्रै नभइ व्यवहारमा देखाउन भनेको नेता महतले बताउनुभयो । आफूहरूको उद्देश्य नै केपी ओलीलाई असफल गराउने भनिसकेपछि समर्थन गर्न सक्ने अवस्था नरहेको नेता महतले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘लोकतान्त्रिक व्यवस्था कमजोर पार्ने काम भएसम्म व्यावहारिक रूपमा लोकतन्त्रका लागि हामीसँगै लडेका हौँ भन्ने प्रधानमन्त्रीको भनाइ अनुसारका काम नभएकाले व्यवहारमा पनि ती कुरा आउनुपर्‍यो । विपक्षी पार्टी भए पनि लोकतान्त्रिक प्रक्रियालाई सहयोग गर्न हामी सधैँ तयार छौँ तर ती कुरालाई व्यवहारमा पनि देखिनुपर्‍यो भन्ने कुरा हामीले स्पष्ट राख्यौँ । लोकतन्त्रलाई मजबुत बनाउने कुराहरूलाई गम्भीरताका साथ हामीले उठायौँ । विशेषगरी प्रधानमन्त्रीलाई विशेष अधिवेशनमा आफूहरूले सहयोग गर्न नसक्ने कुरा हामीले स्पष्ट भनेका छौँ । हामी विपक्षी दलको हैसियतले सत्ता साझेदारी गर्न र विश्वासको मत दिने अवस्थामा छैनौँ तर लोकतान्त्रिक मूल्य, मान्यतालाई सुदृढ गर्ने कुराको सवालमा व्यवहारमा देखिनुपर्‍यो । सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलापको आधारमा अहिलेसम्म समर्थन गर्ने अवस्था छैन भनेर हामीले भन्यौँ ।’

भेटमा नेपाली कांग्रेसले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको, बिरामीले उपचार नपाएको, अक्सिजनको अभाव, सङ्कटमा विभिन्न किसिमका बिचौलियाको चलखेल लगायतका कुरालाई गम्भीरताका साथ लिएर प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीलाई सुझाएको नेता महतले बताउनुभयो ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा सहितको टोली लिएर सभापति देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ पुग्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.