प्रहरीका सबै सङ्गठनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्री देउवाको निर्देशन


असोज ३१, सोमबार २०७९

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै सङ्गठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिनुभएको छ ।

सोमवार आज ६७औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा बोल्दै उहाँले प्रहरीका सबै सङ्गठनलाई सूचना प्रविधिमैत्री बनाएर अघि बढ्न आवश्यक भएको बताउनु भएको हो ।

उहाँले नेपाल प्रहरीलाई आउँदो दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्तिविकासलाई समयानुकूल सुधार गर्दै जानुपर्ने आवश्यकता भएको देउवाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल प्रहरीलाई आउँदो दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध छ । नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्तिविकासलाई समयानुकूल सुधार गरी जान आवश्यक छ । यसका लागि आवश्यक योजना अघि बढाउन गृहमन्त्रालयलाई पनि निर्देशन दिन्छु । आउँदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव, निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न हुनेमा म विश्वस्त छु ।’

प्रधानमन्त्री देउवाले आउँदो चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गराउन नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी चुनावलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिनुभयो।

Leave A Reply

Your email address will not be published.