देउसी–भैलो कार्यक्रमबाट केदार आधारभूत विद्यालयले गर्‍यो ७२ हजार बढी आम्दानी

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिका–४, उज्वलगाउँ स्थित केदार आधारभूत विद्यालयले यस वर्ष सञ्चालन गरेको देउसी–भैलो कार्यक्रमबाट ७२ हजार ३७२ रुपैयाँ आम्दानी गरेको छ ।

विद्यालयले नेपाली मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रमबाट कुल ७२ हजार ३७२ रुपैयाँ संकलन भएको विद्यालयका प्रधानाध्यापक हिराराम ओडले जानकारी दिए ।

देउसी–भैलो कार्यक्रममार्फत आर्थिक संकलन गर्नुका साथै स्थानीय समुदायसँगको सम्बन्धलाई थप सुमधुर बनाउने र विद्यार्थीमा मौलिक संस्कृति, परम्परा तथा सामाजिक सद्भावप्रतिको भावना विकास गर्ने उद्देश्य रहेको विद्यालयले जनाएको छ ।

विद्यालयले सञ्चालन गरेको कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, अभिभावक, स्थानीयवासी तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.