पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लाग्यो:सोमपाल कामी

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले एसिया कपमा राम्रो अनुभव बटुल्न पाएको बताएका छन् ।

आज बिहीवार इन्स्पायर नोबल फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा सोमपालले यस्तो प्रतिक्रिया दिएका हुने । उनले पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लागेको बताए । पाकिस्तानसँगको खेलमा सोचेजस्तो प्रदर्शन हुन नसकेको भन्दै सोमपालले अर्को पटक खेल्दा राम्रो नतिजा दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा फाउन्डेशनले भारतसँगको खेलमा छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई नगदसहित सम्मान गरेको छ । एसिया कप–२०२३ अन्तर्गत भारतसँगको खेलअघि फाउन्डेशनले छक्का प्रहार गर्नेलाई खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । आज नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा फाउन्डेशनले भारतसँगको खेलमा छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक लाख रुपैयाँ प्रदान गरेको हो । भारतसँगको खेलमा कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए ।

कुशल र सोमपाललाई फाउन्डेशनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गर्नुभयो । फाउन्डेशनले भारतसँगको खेलमा छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । इन्स्पायर नोबेल फाउन्डेशन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरूलाई थप हौसला मिलेको बताउँदै फाउन्डेशनलाई धन्यवाद दिए ।

कार्यक्रममा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले एसिया कप खेल्नुभन्दा पनि एसिया कपमा क्वालिफायर हुँदा आफूलाई धेरै खुशी लागेको बताए । भारतलाई टीभीमा हेरेर आफूहरूले क्रिकेट सिकेको बताउँदै उनले आफू भारतसँग खेल्न आतुर रहेको बताए । पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्दा सामान्य लागेको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.