घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउदैं भारतले एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले दिएको २१४ रनको लक्ष्य पन्छाएको श्रीलंका ४३ दशमलब ३ ओभरमा १७२ रनमा अलआउट भयो ।
उसका दुनिथ वेलालेजले ४२ र धनन्जय डि सिल्भाले ४१ रन बनाएपनि हार भने टार्न सकेनन्।
भारतका कुलदीप यादवले ४,रविन्द्र जडेजाले दुई, जस्प्रित बुमराहले दुई, हार्दिक पान्ड्या र मोहम्मद शिराजले एक एक विकेट लिए ।
त्यसअघि कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको भारत ४९ दशमलब १ ओभरमा २१३ रनमा अलआउट भयो ।
जसमा कप्तान रोहित शर्मा ५३,शुभमन गिल १९,विराट कोहली ३,इशान किसन ३३,केएल राहुल ३९,हार्दिक पान्ड्या ५, रविन्द्र जडेजा ४, अक्षर पटेल २६ रनमा आउट भए ।
श्रीलंकाका दुनिथ वेलालेजले ५,हरिता असलंकाले ४ विकेट लिए ।
सुपर सिक्समा लगातार दोस्रो जित निकाल्दै भारत उपाधि नजिक पुगेको हो । यसअघि भारतले पहिलो खेलमा पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको थियो । बिहीबार श्रीलंकाले पाकिस्तानसँग खेल्नेछ । श्रीलंका र पाकिस्तानबीचको विजेता टोली फाइनलमा पुग्नेछ ।
सुरुवाती दुई हारका साथ बंगलादेश भने फाइनल दौडबाट बाहिरिएको छ ।