बैतडी । बारुद बनाउन प्रयोग गरिने पदार्थसहित बैतडीमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका-२ देहिमाण्डौकी ४२ वर्षीया पुष्पा बोहरा रहेकी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
भारतीय सीमा नाका झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको से १ ज ४०९ नम्बरको जिपबाट पक्राउ परेकी बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धकजस्तो देखिने पदार्थ २ केजी र बारुद नै बनाउन प्रयोग गरिने सुरा जस्तो देखिने पदार्थ १० केजी गरेर १२ केजी अवैध पदार्थ फेला परेको हो।
विषेश सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्नेक्रममा आलुको बोराभित्र लुकाइछिपाइ ल्याउदै गरेको अवस्थामा दशरथचन्द नगरपालिका ८ मौराभिरबाट उक्त कच्चा पदार्थ सहित पुष्पा बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यो बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।