बैतडी-बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि दनपा २ देहिमाडौं र दनपा ४ खलंगा भिड्ने भएका छन् । मंगलबार सम्पन्न सेमिफाइनलमा दनपा १० बाराकोटलाई १९ रन पराजित गर्दै देहिमाडौं र दनपा ११ नागार्जुनलाई २ विकेटले स्तब्ध पार्दै खलंगा फाइनलमा पुगेको हो ।
बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा टस जितेर पहिला ब्याटिङ गरेको देहिमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रन बनायो । जसमा कपील बोहराले २३ र करन लावडले २० रन बनाए । बाराकोटका प्रकाश बुडालले तीन विकेट लिए ।
११३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको बाराकोट १३ ओभरमा ९३ रनमा समेटि। उसका लागि उत्तम चन्दले २५ रनको योगदान गरेपनि हार भने टार्न सकेनन् । देहिमाडौंका सन्तोष बिजलेले ४ विकेट लिए । उनी प्लेयर अफ दि म्याच घोषित भएका अम्पायर महेश भण्डारीले जानकारी दिनुभयो ।
यस्तै अर्को सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको दनपा नागार्जुन १४.३ ओभरमा ४५ रनमा अलआउट भयो। उसका लागि किशोर पन्तले १० रन बनाए ।बलिङतर्फ खलंगाका वसन्त खत्रीले ४ र सन्तोष चन्दले २ विकेट लिए ।४६ रनको विजयी लक्ष्य खलंगाले ८.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका लागि राजु भाटले ११ रनको योगदान गरे ।बलिङमा राम चन्दले ४ र प्रेम चन्दले ३ विकेट लिए ।फाइनल भिडन्त बुधबार हुनेछ।
नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ११ ओटै वडाका ११टीमको सहभागिता रहेकोमा चार समूहमा विभाजन गरिएको थियो।प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिजलाई नगद २ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान १ हजार १२५ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलका म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद रु ५००र- कप प्रमाण पत्र दिदै आएको छ।प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
यसैबीच समापन समारोहमा क्रिकेट खेलमा अन्तर्राष्ट्रिय टोलीमा सहभागी भएका पुरुष खेलाडीहरुलाई दोसल्ला र कदर पत्र बाट सम्मान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।