त्रिभुवन विश्वविद्यालयमा आठ जना डिन नियुक्त

त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को बैठकले आठ जना डिन नियुक्त गरेको छ। हिजो बसेको बैठकले आठ वटा सङ्कायका डिन र तीन वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो।

नियुक्ति पाएकाहरूलाई आज नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम रहेको त्रिविका प्रवक्ता एमन सिंह बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डिनमा प्रा।डा।द्विविनन्द ढकाल नियुक्त हुनुभएको छ।

यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डिनमा प्रा।डा।मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा।किशोरचन्द्र दाहाल र शिक्षाशास्त्र सङ्कायमा प्रा।डा।वेदराज आचार्य नियुक्त हुनुभएको छ।

यस्तै वन विज्ञान अध्ययन संस्थानमा डा।ठाकुर सिलवाल, व्यवस्थापन सङ्कायमा प्रा।डा।महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर बज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा।डा।शंकर खनाल डिन नियुक्त हुनुभएको छ।

बैठकले योजना निर्देशनालयका निर्देशकमा डा।लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा।राजेन्द्र कुँवर र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्रा।डा।मीना राजभण्डारीलाई नियुक्त गरेको छ। मेरिटोक्रेसी अर्थात योग्यता प्रणालीका आधारमा छनोट समितिले गरेको सिफारिशका आधारमा डिन नियुक्त गरेको त्रिविले जनाएको छ।

गएको बिहिवार बसेको त्रिविको साधारण सभा बैठकमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस सात गतेभित्र डिन नियुक्त गर्न निर्देशन दिनुभएको थियो।

Leave A Reply

Your email address will not be published.