राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज आठौँ पटक म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ। लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिएकाले आज उनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन अध्ययन गर्न समय लाग्ने भएकोले आज थप ४ दिनको म्याद थपका लागि लामिछानेलाई अदालतमा उपस्थित गराउन लागिएको हो।
लामिछानेविरुद्ध पुस ५ गते जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने भएकाले पुस ५ गते उनीविरुद्ध अभियोग पत्र दायर गर्न लागिएको हो।
पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिले पुस ५ मा ९० दिन पुग्ने भएकाले लामिछानेलाई पनि जोशी पक्राउ गरेको मितिबाट म्याद मिलाइएको छ।