प्रधानमन्त्री कप महिला क्रिकेट छनौट: अछामको सान्त्वना जित

बैतडी: प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगितामा अछामले सान्त्वना जित निकालेको छ। प्रतियोगिताबाट बाहिरिसकेको अछामले सान्त्वना जित निकाल्ने क्रममा डोटीलाई २४ रनले हरायो।

दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको अछामले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३५ रन बनायो। जसमा रबिना साउँदले अर्धशतकीय पारे खेल्दै अविजित ५२ रन जोडिन्। जारी प्रतियोगितामा अर्धशतक हिर्काउने पहिलो खेलाडी समेत बनिन्।

डोटीका रेश्मी विष्टले २ विकेट लिइन्। जवाफी ब्याटिङ गरेको डोटी १७.४ ओभरमा १०४ रनमा अलआउट भयो। उसका अल्फा श्रेष्ठले ३९ रनको योगदान गरेपनि जितका लागि सम्भव भएन।

अछामका लागि रबिना साउँद र वबिता धामीले ३र३ विकेट हात पारे। रबिना प्लेयर अफ द म्याच चुनिएकी स्कोरर नरेन्द्र चन्दले बताउनुभयो। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयोजना पुस १९ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनौट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले बताउनुभयो।

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ।

Leave A Reply

Your email address will not be published.