बैतडी : डडेल्धुराको भागेश्वर गाउँपालिका–०३ का प्रकाश दयाललाई भागेश्वर गाउँपालिकाले सम्मान गरेको छ। ६ हजार २८ मिटरको अग्लो चुलुफार ईस्ट हिमालको सफल आरोहण गरेका दयाललाई गाउँपालिका सम्मान गरेको हो।
दयाललाई गाउँपालिका अध्यक्ष हेमराज चटौत, गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठी र वडाध्यक्ष डम्बर राज जोशि लगायतले गाउँपालिकामा सम्मान गरेको जनाईएको छ। दयालले असोज २९ र ३० गतेका दिन चुलुफार ईस्ट हिमालको सफल आरोहण गर्नुभएको भागेश्वर गाउँपालिकाका कार्यपालिका सदस्य रमेश दयालले बताउनुभयो।
सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्दार तालिम शिक्षालय मनाङमा संचालित सि.सं. १ उच्च भु–भाग खोज तथा उद्दार तालिममा दामोदर हिमश्रृंखलामा पर्ने उक्त हिमाललको दयालले आरोहण गर्नुभएको थियो। पर्वतीय उद्धार क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हिमाल आरोहण गरिएको जनाईएको छ।
आफुले गरेको कामको प्रशंसासहित सम्मान गरेकोमा दयालले गाउँपालिकालाई धन्यबाद ज्ञापन गरेका छन। यो सम्मानले आगामी दिनमा पनि यस्ता कार्य गर्ने हौसला बढेको दयालले बताएका छन।