निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा चुनावका लागि १ सय ६८ वटा मतदानस्थल थप गरेको छ। आयोगको आज बसेको बैठकले १ सय ६८ वटा मतदानस्थल थप गर्ने निर्णय गरेको प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।
यस्तै आयोगले मतदातालाई अपायक परेका, जीर्ण रहेका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज गरेको छ। यसबाट साविकमा कायम १० हजार ८९२ मा ७५ वटा मतदानस्थल थपिएर अब देशभर १० हजार ९६७ मतदानस्थल कायम भएको भट्टराईले बताउनुभयो।
यस्तै आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा मौज्दातमा रहेको मतपेटिका पनि प्रयोग गर्ने भएको छ। आयोगले अघिल्लो पटकको चुनावमा खरिद गरेर मौज्दात रहेका ९० हजार मतपेटिका प्रयोग गर्ने र नपुग हुने ४५ हजार मतपेटिका खरिद गर्ने निर्णय गरेको छ।
त्यस्तै आयोगले मतपत्र छपाइका लागि अघिल्लो पटक खरिद गरेर मौज्दात रहेको कागज पनि प्रयोग गर्ने भएको छ। आयोगलाई मतपत्र छपाइका लागि ३ सय मेट्रिक टन कागज आवश्यक हुन्छ तर आयोगसँग ५ सय ६६ मेट्रिक टन कागज मौज्दात छ ।