सुदूरपश्चिम एनपीएलको फाइनलमा, विराटनगर ७७ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ। आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम लगातार दोश्रो पटक फाइनलमा स्थान बनाएको हो । सुदूरपश्चिमले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर १ बलमा ७८ रन बनाएर अलआउट भयो ।

विराटनगरका फाफ डु प्लेसिसले ३६ र मचेन्ट डे ल्याङ्गेले १५ रन बनाए । सुदूरपश्चिमका स्कट कुग्लेलिजन, हर्मित सिंह र अविनाश बोहराले समान २ तथा हेमन्त धामी, र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनायो । सुदूरपश्चिमका विनोद भण्डारीले ६३, आरिफ शेख र शेल्डन ज्याक्सनले समान २० रन बनाए । विराटनगरका प्रतिस जिसी र मर्चेन्ट डे लाङ्गेले समान २ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम शीर्ष र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका हुन् । सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता हो ।

अब विराटनगरले दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा भोलि दिउँसो ४ बजे काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । करण केसीको कप्तानीमा रहेको काठमान्डु तेस्रो र रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चौथो स्थानमा रहेका प्लेअफमा पुगेका हुन् । यो खेल जित्ने टोलीले फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ भने हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर पर्सि दिउँसो ४ बजे शुरू हुनेछ ।

दोस्रो संस्करणको एनपीएल क्रिकेटको फाइनल खेल आउँदो शनिवार दिउँसो साढे ३ बजे शुरू हुनेछ ।

Leave A Reply

Your email address will not be published.