बैतडीको सिगास गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा शाखा अधिकृत शंकरबहादुर बोहरा हाजिर भएका छन्। इलाका प्रशासन कार्यालय पुर्चौंडी, हाटमा कार्यरत बोहरालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही मंसिर १७ गते सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो।
मन्त्रालयले गाउँपालिकामा सरुवा गरेपछि बोहरा आज गाउँपालिकामा हाजिर भएका हुन्। बोहराले यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीमा सहायक प्रमुख जिल्ला अधिकारीको भूमिका समेत निर्वाह गरिसकेका छन्।
गाउँपालिकामा हाजिर भएका बोहराले नेपाल सरकारले तोकेको कार्यभार आफूले कुशलतापूर्र्वक निर्वाह गर्ने बताए। ऐन, कानुनको परिधिभित्र रहेर नागरिकलाई सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै उनले पालिकामा सक्दो राम्रो काम गर्ने बताए।
सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको गत मंसिर ८ गते जिल्ला समन्वय समिति बैतडीमा सरुवा भएको थियो। उनको सरुवा भएपछि मन्त्रालयले बोहरालाई सिगासमा खटाएको थियो। प्रमुख प्रशासकीय अधिकृत अवस्थीको सिगास गाउँपालिकाले एक कार्यक्रमकाबीच बिदाइ समेत गरिसकेको छ।