नेकपा एमालेको भोलिदेखि शुरू हुने ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी चौरमा गर्ने एमालेको तयारी छ।
महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण महाधिवेशनस्थलमा चहलपहल बढेको छ। उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित काठमाण्डौ उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कने गरी मञ्च तयार गरिएको छ । मञ्चको दायाँबायाँ हिमाल झल्किने आकृति निर्माण गरिएका छन्।
ऐतिहासिक सांस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सम्पदाको भल्को दिनेगरी मल्लकालीन शैलीमा चाँगुनारायण मन्दिरको स्वरुपमा मञ्च निर्माण गरिएको छ। उद्घाटनस्थलको मञ्चमा नेवारी कला, संस्कृति झल्कने दृश्य राखिएका छन्। उद्घाटनका दिन करिब तीन लाख व्यक्ति बस्न मिल्ने व्यवस्था गर्न लागिएको एमालेले जनाएको छ।
यसैबीच एमाले सचिवालय बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल हुने एमालेले जनाएको छ।
पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने गरी विधान संशोधन गर्ने तयारी भएको हो। वरिष्ठ उपाध्यक्षको पद पुनः ब्युँताउने, उपाध्यक्ष र सचिवको संख्या सात–सात राखेर पुरानै १९ सदस्यीय पदाधिकारी पुर्याउने, अहिले प्रस्तावित २५१ सदस्यीय केन्द्रीय कमिटी ३०१ तथा स्थायी समिति ४५ सदस्यीय राख्ने गरी तयारी भएको छ।