नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआतमा कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा एक खर्ब ३२ अर्ब ३४ करोड थप वृद्धि भई २८ खर्ब छ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो।
सरकारले तिर्न बाँकी कूल सरकारी ऋण कूल गार्हस्थ्य उत्पादनको ४५।९५ प्रतिशत बराबर हुन आउँछ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३ प्रतिशतअर्थात् १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख रुपैयाँ र आन्तरिक ऋणको हिस्सा ४७ प्रतिशत अर्थात् १३ खर्ब १९ अर्ब १३ करोड १० लाख रुपैयाँ रहेको छ।
कूल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋणको अनुपात २१।६० र बाह्य ऋणको अनुपात २४।३५ प्रतिशत रहेको छ। सरकारले चालु आर्थिक वर्षका लागि पाँच खर्ब ९५ अर्ब रुपैयाँबराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ।
अर्धवार्षिक समीक्षा अवधिसम्ममा दुई खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ प्राप्ति भइसकेको छ। सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा पनि पछिल्लो छ महिनामा ठूलो रकम खर्च भएको छ। सार्वजनिक ऋणको साँवा ब्याज तिर्न सरकारले चालू आर्थिक वर्षका लागि ४ खर्ब ११ अर्ब एक करोड बजेट विनियोजन गरेकोमा गएको पुस मसान्तसम्ममा १ खर्ब ८७ अर्ब १२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।