आजदेखि शहीद सप्ताह शुरु

शहीद सप्ताह शुरु भएको छ। देश र नागरिकको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरेर शहीद सप्ताह मनाउने गरिन्छ।

शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राण दण्ड दिइएको ठाउँ काठमाण्डौको टेकुमा शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उहाँको स्मरण गरिएको छ।

काठमाण्डौ महानगरपालिकाका कार्यबाहक मेयर सुनिता डङ्गोलले शास्त्रीको शालिकमा माल्यार्पण गर्दै इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो। शहीद शुक्रराज शास्त्रीलाई १९९७ साल माघ १० गतेका दिन पचलीमा मृत्युदण्ड दिइएको थियो।

त्यही दिनको सम्झनामा हरेक वर्ष माघ १० देखि शहीद सप्ताह मनाउन थालिएको हो। शहीद धर्मभक्त माथेमालाई माघ १३ मा अनि गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ मा शोभा भगवतीमा गोली हानेर हत्या गरिएको थियो।

विशेषगरी शास्त्री, माथेमा, श्रेष्ठ, चन्दको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ। १९९७ सालमा राणा शासनको विरोध गर्दै नागरिकलाई प्रजातन्त्रको पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा उहाँहरूलाई मृत्युदण्ड दिएको थियो।

Leave A Reply

Your email address will not be published.