बैतडीमा एक अस्थायी मतदान केन्द्र निर्माण गरिने भएको छ। शनिबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो।
बैठकले दशरथ प्राथमिक विद्यालय गढी बैतडीलाई अस्थायी मतदान केन्द्रका रूपमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो। जिल्ला स्थित विभिन्न निकायमा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, कारागारमा रहेका थुनुवा–कैदी तथा वृद्धाश्रममा बसोबास गर्ने अस्थायी मतदाताहरूलाई लक्षित गर्दै उक्त मतदान केन्द्र स्थापना गर्न लागिएको हो।
यसअघि कारागार कार्यालय बैतडी परिसरमा अस्थायी मतदान केन्द्र सञ्चालन हुँदै आएको थियो। तर हाल सो भवन निर्माणाधीन अवस्थामा रहेकाले वैकल्पिक स्थानको आवश्यकता परेको हो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन सबै पक्षले आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत बैठकमा व्यक्त गरिएको जनाइएको छ। जिल्ला निर्वाचन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी केन्द्र स्थापनाको काम अघि बढाइने जनाएको छ।
अस्थायी मतदाता नामावली भने फागुन ५ गते प्रकासन गरिने जनाईएको छ।