शुरू भयो यो वर्षको होली

काठमाण्डौको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व शुरू भएको छ। आज बिहान ७ बजेर १३ मिनेटको साइतमा चीर ठड्याइएको हो।

बिहान साइतमा रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको झन्डै ३२ फिट अग्लो बाँसको तीन खण्डे चीर ठड्याएको हो। त्यसपछि चीरलाई परिक्रमा गर्दै एकआपसमा अबीर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न थालिएको छ।

यस अवसरमा गुरुजुको पल्टनले हर्षबढाइँ गरेको छ । चीर उठाएको हेर्न वसन्तपुरमा भीड लागेको थियो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको शुभ साइतमा चीर ठड्याएपछि फागुन शुक्ल अष्टमीदेखि काठमाण्डौ उपत्यकालगायत देशभर होलीको रौनक शुरू हुन्छ। तीन तले चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ।

यस वर्षको होली काठमाण्डौलगायत पहाडी जिल्लाहरूमा फागुन १८ र तराई–मधेशका जिल्लाहरूमा फागुन १९ गते परेको छ। सरकारले होली पर्व मनाउन सार्वजनिक बिदा दिँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.