भोलि हुने मतदानका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार छिटपुटबाहेक सबैजसो तयारी सकिएको छ। चुनाव सुरक्षार्थ परिचालन गरिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसहितको एकीकृत सुरक्षा टोली ७७ वटै जिल्लाका मतदान केन्द्रमा परिचालन भएको छ।
सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुगिसकेका छ । बुथ निर्माण, सामग्री व्यवस्थापन र सर्वदलीय समन्वयका काम भैरहेको छ। हिमाली जिल्ला डोल्पाका २० र हुम्लाका ४ गरी २४ दुर्गम ठाउँमा हेलिकोप्टरमार्फत सामग्री ढुवानी गरिएको छ।
दुर्गम क्षेत्रमा कर्मचारी र सुरक्षाकर्मी समेत खटिसकेका छन्। चुनावलाई शान्तिपूर्ण र सौहार्दपूर्ण बनाउन प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म सर्वदलीय बैठक सम्पन्न भइसकेको छ। सुरक्षा निकायका अनुसार अहिलेसम्म चुनाव बिथोल्ने प्रयासमा संलग्न १ सय ७६ जनालाई पक्राउ गरिएको छ। कतिपय स्थानमा नक्कली शंकास्पद वस्तु फेला परेपनि सुरक्षा संयन्त्रले निष्क्रिय पारेको छ।
निर्वाचन आयोगले गाडी पासको दुरुपयोग नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुने जनाएको छ। सार्वजनिक बिदाका कारण वित्तीय सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले चुनाव अवधिमा आवश्यक बैंकिङ सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ।
समग्रमा सुरक्षा, प्रशासनिक समन्वय, सामग्री व्यवस्थापन र मौसमको अनुकूल अवस्थाका कारण चुनावको तयारी लगभग पूरा भएको छ। मौसमले पनि मतदानको दिन भोलि ठूलो प्रभाव नपार्ने पूर्वानुमान गरिएको छ। भोलि पानी पर्ने सम्भावना छैन। पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भए पनि समग्रमा मौसम सफा रहने मौसमविद्ले बताएका छन्।
भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। निर्वाचन आयोगले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ । यसपटक कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था समेत गरेको छ।