पीएम कप क्रिकेट: मधेशलाई हराउँदै आर्मी शीर्ष स्थानमा उक्लियो

काठमाण्डौ –प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

जनकपुरमा भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हरायो । मधेशले दिएको १८५ रनको लक्ष्य आर्मीले २९ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । आर्मीका तृतराज दासले ६९, बसिर अहमदले नटआउट ४१ रन बनाए । मधेशका मोहम्मद आदिल आलमले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मधेशले ४८ ओभर ३ बलमा १८४ रन बनाउँदा सबै विकेट गुमायो । मधेशका विशाल शुस्लिङले ५१, कप्तान अनिल साहले ४२ रन बनाए । आर्मीका बसिर अहमदले ३ विकेट लिए ।

योसँगै आर्मी ५ खेलमा ४ जीत सहित ९ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मधेश ५ खेलमा ७ अङ्कसहित चौथो स्थानमा छ ।

यस्तै वीरगञ्जमा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई २ विकेटले हरायो । गण्डकीले दिएको १९१ रनको लक्ष्य सुदूरपश्चिमले ३९ ओभर २ बलमा ८ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका अभिषेक पालले ६६, नारायण जोशीले नटआउट ४५ रन बनाए । गण्डकीका विपिन खत्रीले ५ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ४९ ओभरमा सबै विकेट गुमाएर १९० रन बनायो । गण्डकीका अर्जुन कुमालले ४४, कप्तान विपिन खत्रीले ३० रन बनाए । सुदूरपश्चिमका शेर मल्लले ५ विकेट लिए ।

योसँगै सुदूरपश्चिम ५ खेलमा ४ जीतसहित ८ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गण्डकी ५ खेलमा ३ अङ्कसहित नवौँ स्थानमा छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

Leave A Reply

Your email address will not be published.