बैतडी-बैतडीको मेलौली नगरपालिका-१ मेलौलीमा इलाका प्रशासन कार्यालयको स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले एक समारोहका बिच इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुभएको हो ।
उद्घाटनका क्रममा मेलौली नगरपालिका ,७ का दिपक अवस्थीलाई नागरिकता प्रमाणपत्र–पत्र प्रदानगरेर इलाका प्रशासन कार्यालय मेलौलीको सेवा शुभारम्भ गरिएको छ ।
मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भए सँगै बैतडीका मेलौली नगरपालिका,पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका पुरै वडा र पाटन नगरपालिकाका केही वडाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
इलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईकाले स्थानीय नागरिकहरुलाई छिटो, सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालयको स्थापना गरिएको बताउनुभयो । अब सामान्य कामका लागि नागरिकले दिनभरि यात्रा गरेर सदरमुकाम पुग्नुपर्ने अवस्था क्रमशः अन्त्य हुनेछ, उहाँले भन्नुभयो ।
स्थानीयवासी करन सिंह नेगीले नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने तथा सच्याउने सामान्य कामका लागि समेत सदरमुकाम पुग्नुपर्दा समय र खर्च दुवै व्यहोर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अब सेवा आफ्नै क्षेत्रमै उपलब्ध हुने भएपछि नागरिकमा खुशी छाएको बताउनुभयो ।
इलाका प्रशासन कार्यालयका प्रमुख महेश भट्टले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
विशेषगरी आर्थिक रूपमा कमजोर तथा ज्येष्ठ नागरिकलाई प्रशासनिक सेवा लिन सदरमुकाम पुग्न निकै कठिन हुने गरेको थियो ।
सडक यातायात, समय र अतिरिक्त खर्चका कारण सेवाग्राहीले सास्ती खेप्दै आएका बेला मेलौलीमै इलाका प्रशासन कार्यालय सञ्चालन हुनु तल्लोसोराड क्षेत्रका नागरिकका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
स्थानीय तह नजिकैबाट प्रशासनिक सेवा प्रवाह हुन थालेपछि सेवाग्राहीको पहुँच बढ्नुका साथै सरकारी सेवाप्रतिको विश्वास समेत थप मजबुत बन्ने अपेक्षा गरिएको छ ।