मेलौली नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बैतडीको मेलौली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ। नगरपालिकाका सबै वडाहरू पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि नगरपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो।

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आयोजित कार्यक्रममा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकिएका सबै खोप १६ देखि २३ महिनासम्मका बालबालिकाले प्राप्त गरेको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको मेलौली नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत भोज बहादुर चन्दले जानकारी दिनुभयो। उहाँका अनुसार पूर्ण खोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, आमा समूह तथा सरोकारवाला निकायको सक्रिय सहभागिता रहेको थियो।

घरधुरी सर्वेक्षण, अभिलेख प्रमाणीकरण तथा खोप छुटेका बालबालिकाको पहिचान गरी उनीहरूलाई खोप सेवामा पहुँच सुनिश्चित गरिएपछि घोषणा प्रक्रिया पूरा गरिएको बताइएको छ। यस अभियानले बालबालिकालाई खोपबाट बचाउन सकिने विभिन्न रोगबाट सुरक्षित राख्न मद्दत पुग्नुका साथै नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको नगर प्रमुख भिम बहादुर चन्दले बताउनुभयो।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा केवल एक औपचारिक कार्यक्रम मात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति स्थानीय सरकारको प्रतिबद्धताको प्रतीक भएको प्रमुख प्रशासकीय अधिकृत हरि प्रशाद शर्माले बताउनुभयो। आगामी दिनमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ नियमित अनुगमन, अभिलेख अद्यावधिक, जनचेतनामूलक कार्यक्रम तथा खोप सेवाको निरन्तरतामा विशेष ध्यान दिइने जनाएको छ।

स्वास्थ्य क्षेत्रमा हासिल भएको यो उपलब्धिले मेलौली नगरपालिकालाई बालमैत्री तथा स्वास्थ्यमैत्री स्थानीय तहका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.