दार्चुला –दार्चुलाको मार्मा गाउँपालिका–४ मा श्रीमानको हत्या आशंकामा श्रीमतीलाई नियन्त्रणमा लिएको छ। मार्मा–४ का स्थानीय पूर्णसिह धामीको जेठ ३१ गते आफ्नै घरमा हत्या भएको आंशकामा उनकी श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनाको दुई दिनपछि दाहसंस्कार गरिएको अवस्थामा मात्रै प्रहरीलाई जानकारी पुगेकाले अनुसन्धान जटिल बनेको छ ।
पूर्णसिंहको आफ्नै घरभित्र हत्या भएको अवस्थामा शव फेला परेको प्रारम्भिक जानकारीमा आएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतले बताए । उनले घटनाबारे प्रहरीलाई दुई दिनपछि मात्रै मंगलबार सूचना दिइएको थियो । स्थानीयले शवलाई असार १ गते नै दाहसंस्कार गरिसकेका छन् ।
घटनास्थलबाट प्रमाण संकलन गर्न नपाउँदै शव जलाइसकिएको अवस्थामा जानकारी प्राप्त भएकाले घटनाको अनुसन्धान थप संवेदनशील बनेको प्रहरीले जनाएको छ । घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन ।
प्रहरीले अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । मृतक धामी करिब १ महिनाअघि मात्र भारतको बेंग्लोरबाट घर फर्केका थिए । उनी झण्डै १० वर्षदेखि भारतमा रोजगारी गर्दै आएका थिए ।