कञ्चनपुरको महेन्द्रनगरसहित जिल्लाका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै जाँदा जनजीवन कष्टकर बन्दै गएको छ। पछिल्ला केही दिनयता तापक्रम लगातार बढेपछि सर्वसाधारण, बालबालिका, ज्येष्ठ नागरिक तथा श्रमिकहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
दिउँसोको समयमा चर्को घाम र तातो हावाका कारण सडक, बजार तथा सार्वजनिक स्थलहरू सुनसान देखिन थालेका छन्। अत्यधिक गर्मी बढ्दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयहरुले विदा गरेको छ।
गर्मीका कारण पानीको खपत बढेको छ भने कतिपय स्थानमा खानेपानीको अभाव समेत देखिन थालेको भिमदत्त नगरपालिका-५ सुकासालकी कमला लुहारले बताउनुभयो। दैनिक ज्यालादारी तथा खुला आकाशमुनि काम गर्ने मजदुरहरू सबैभन्दा बढी समस्यामा परेका छन्।
कञ्चनपुरमा पछिल्लो एक साता यता गर्मी अत्यधिक बढेको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा तातो लहर चल्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरेको छ ।