मेलौलीमा बालविवाह अन्त्यका लागि किशोरकिशोरीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैतडी-बैतडीको मेलौलीमा बालविवाह, लागुऔषध र घरेलु हिंसा न्यूनीकरणका लागि किशोर–किशोरीसँग वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मेलौली नगरपालिका वडा .नं -७ को आयोजनामा बालविवाह, लागुऔषध दुर्व्यसन, घरेलु हिंसा, मादक पदार्थ सेवन लगायतका सामाजिक विकृति तथा हानिकारक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले किशोरकिशोरीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता मेलौली नगरपालिका वडा नं- ७ का वडाध्यक्ष रामचन्द्र भट्टले गर्नुभएको थियो । भने प्रमुख अतिथि मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा उपस्थित हुनुहुन्थ्यो।

प्रमुख प्रशासकीय अधिकृत शर्माले समाजका हानिकारक क्रियाकलाप न्यूनीकरण गर्न युवा पुस्ताको सक्रिय भूमिका रहने बताउनुभयो।उहाँले भन्नुभयो,बालविवाह र लागुऔषधजस्ता समस्या हाम्रो समाजका लागि चुनौती बनेका छन्, यसको न्यूनीकरणका लागि किशोर–किशोरीहरू स्वयम्‌मा दृढ संकल्प र सचेतना आवश्यक छ।
ईलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक प्र.ना.नि दीपेन्द्र चन्दले लागुऔषध र कानुनबारे जानकारी दिनुभएको थियो ।भने हेल्थ असिस्टेन्ट लोकराज भट्टले स्वास्थ्य र कुलतका असरबारे सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा वडा सदस्यहरू,वडा सचिव चिन्तामणि भट्ट, कलाकार मनोहर परियार तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका र सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बालविवाहका कानुनी, सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी असरका साथै लागुऔषध दुर्व्यसन, घरेलु हिंसा, मादक पदार्थ सेवन तथा किशोरकिशोरीमा देखिन सक्ने विभिन्न जोखिमपूर्ण व्यवहारका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

सहभागी किशोरकिशोरीहरूले आफ्ना जिज्ञासा राख्दै खुला छलफलमा सक्रिय सहभागिता जनाएका थिए।वक्ताहरूले बालविवाह अन्त्य गर्न परिवार, विद्यालय, स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीचको समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै किशोरकिशोरीलाई शिक्षा, सीप विकास र सकारात्मक जीवनशैलीतर्फ प्रेरित हुन आग्रह गरेका थिए।

उनीहरूले बालविवाहविरुद्ध सबैले सचेत र जिम्मेवार बन्नुपर्नेमा समेत जोड दिएका थिए।कार्यक्रममा भरतपुर माध्यमिक विद्यालय र मणिलेक नमूना माध्यमिक विद्यालय, काडाँ–मेलौलीका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

वडा अध्यक्ष रामचन्द्र भट्टका अनुसार यस्ता जनचेतनामूलक कार्यक्रमले बालविवाह न्यूनीकरण, सामाजिक विकृति नियन्त्रण तथा सुरक्षित र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

Leave A Reply

Your email address will not be published.