मेलौली–१ मा महिला स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीका लागि तीनदिने अभिमुखीकरण कार्यक्रम

बैतडी-बैतडीको मेलौली नगरपालिका वडा नं-१ मा महिला स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीका लागि पोषण तथा स्वास्थ्यकर व्यवहार परिवर्तन सम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।वडा कार्यालयको आयोजनामा सञ्चालन भएको कार्यक्रमले समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी,गुणस्तरीय र जनमुखी बनाउने उद्देश्य लिएको छ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको छ।अभिमुखीकरणका कार्यक्रममा पोषण सुधार, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य, नवजात शिशु तथा बालबालिकाको पोषण, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, स्वस्थ जीवनशैली, समुदायमा स्वास्थ्य शिक्षा तथा व्यवहार परिवर्तनका विषयमा विस्तृत सहजीकरण गरिने आधारभूत स्वास्थ्य सेवा केन्द्र मेलौली–१ हरिचनका संस्था प्रमुख सीता विष्टले बताईन् ।

यस्तै, समुदायमा देखिने कुपोषण न्यूनीकरण, स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार, नियमित स्वास्थ्य परीक्षण, खोप, सुरक्षित मातृत्व तथा स्वास्थ्य संस्थाबाट उपलब्ध सेवाबारे नागरिकलाई प्रभावकारी रूपमा जानकारी गराउने विषयमा समेत सहभागीलाई अभिमुखीकरण गरिने उनले बताईन् । । कार्यक्रमबाट महिला स्वास्थ्य स्वयंसेविका र कर्मचारीको क्षमता अभिवृद्धि भई समुदायमा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

यस्तै मेलौली नगरपालिका वडा नं-१ का वडा अध्यक्ष शरद सिंह नेगीले समुदायको स्वास्थ्य सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले स्वास्थ्य स्वयंसेविका र कर्मचारीलाई समयानुकूल ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्न यस्ता अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो।

समुदायमा पोषण, सरसफाइ र स्वास्थ्यकर व्यवहारको विकास गर्न सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिँदै, सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारेर जनताको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो। यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमबाट सहभागीहरूले प्राप्त ज्ञान र अनुभवलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.