बैतडी– बैतडीको पाटन नगरपालिका–५ स्थित ओदाली शहरी स्वास्थ्य क्लिनिकका प्रमुख हेमन्त भण्डारीको निधन भएको छ।
पाटन नगरपालिका–६ निवासी भण्डारीको सोमबार बिहान आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कैलालीको अत्तरियास्थित अस्पतालमा मुटुको शल्यक्रियापछि बेहोस भएका उनलाई थप उपचारका लागि भारतको रुद्रपुर लगिएको थियो। उपचारबाट सुधार हुने सम्भावना न्यून रहेको भन्दै अस्पतालले डिस्चार्ज गरेपछि आइतबार घर ल्याइएका भण्डारीको सोमबार बिहान निधन भएको हो।
पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले भण्डारीको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए। स्वास्थ्य सेवासँगै क्रिकेट अम्पायरका रूपमा समेत सक्रिय रहेका भण्डारीको निधनले खेल क्षेत्रमा पनि ठूलो क्षति पुगेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्।
यसैबीच, भण्डारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पाटन नगरपालिकाले मंगलबार एक दिन शोक बिदा दिएको छ। नगरपालिकामातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था र शिक्षण संस्थामा शोक बिदा दिइएको जनाइएको छ।