बैतडी-बैतडीमा पाँच दिन राहदानी सेवा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।नयाँ राहदानी प्रणाली कार्यान्वयनका लागि बैतडीमा पाँच दिन राहदानी आवेदन सेवा बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गर्दै राहदानी विभागको निर्देशनअनुसार असार २४ गतेदेखि २८ गतेसम्म नयाँ राहदानीका लागि आवेदन दर्ता सम्बन्धी सेवा स्थगित रहने जनाएको हो।
कार्यालयका अनुसार नयाँ प्रणाली लागू गर्ने तयारीका कारण उक्त अवधिमा राहदानी आवेदन लिन नसकिनेछ। अत्यावश्यक रूपमा राहदानी आवश्यक परेका सेवाग्राहीलाई भने असार २३ गतेभित्र आवेदन दर्ता गराउन आग्रह गरिएको छ।
यद्यपि, राहदानी तयार भएको भन्दै एसएमएस प्राप्त गरेका सेवाग्राहीले परिचय खुल्ने कागजात, राजस्व तिरेको भौचर तथा नवीकरणका हकमा पुरानो राहदानीसहित कार्यालयमा उपस्थित भई राहदानी बुझ्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालयका अनुसार नयाँ राहदानीका लागि आवेदन दर्ता सेवा मात्रै पाँच दिनका लागि बन्द हुने हो। असार २९ गतेदेखि राहदानी आवेदन सेवा पुनः नियमित रूपमा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
